न्याम्सको शैक्षिक कार्यक्रम काठमाडौं बाहिर विस्तार गर्ने तयारी
काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शैक्षिक कार्यक्रमलाई विस्तार गर्न लागेको छ । प्रदेशमा कार्यक्रम विस्तारकालागि अध्ययन समिति समेत बनाएको छ ।
न्याम्सको कार्यकारी परिषदको असार ८ गते बसेको बैठकले ७ सदस्यीय कार्यदल गठन गरेको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए । अध्ययन कार्यदलले नेपाल सरकारका सबै सङ्घीय अस्पतालहरूमा र प्रादेशिक अस्पतालमा पनि विस्तार गर्नेबारे सुझाब दिने छ ।
न्याम्सका शिक्षाध्यक्ष डा लोचन कार्कीको संयोजकत्वमा गठन गरिएको कार्यदलमा कान्ति बाल अस्पतालका प्राडा अजित रायमाझी, भेरी अस्पतालका डा राजन पाण्डे, भरतपुर अस्पतालका डा भोजराज अधिकारी, वीर अस्पतालकी डा सन्ध्या चापागाईं र कोशी अस्पतालका डा दिपक सिग्देल सदस्य छन्।
यस्तै कार्यदलका सदस्य सचिवमा न्याम्सका डिन डा अशेष ढुंगाना छन् । हाल न्याम्सको शैक्षिक कार्यक्रम (एमडी, एमएस) कान्ति अस्पताल, प्रसूति गृह, सिभिल अस्पताल, गङ्गालाल र मानसिक अस्पताल लगनखेलमा चलिरहेका छन्।
Share on Twitter